Breaking News
Loading...
######
Friday, October 23, 2015

           काठमाडौं। संघीय समाजवादी फोरम नेपालका नेता देव लिम्बू लाबुङले अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई खुला पत्र लेखेर पार्टीले अहिले हिडेको बाटो गलत भएको बताएका छन्। सकारात्मक डट् कमलाई लाबुङले उपलब्ध गराएको खुला पत्र यस्तो छ :-
अध्यक्ष उपेन्द्र यादवज्यू, वरिष्ठ नेता अशोककुमार राईज्यू
अभिवादन !
                     पार्टीमा भेट हुन छाड्यो, छलफल अन्तक्रिया पनि बन्द भयो। त्यसैले मिडिया मार्फत यो खुला पत्र लेख्न बाध्य भएकाे छु। यो पत्रमा व्यक्त विचार मेरो मात्र नभएर पार्टीका हजारौं साथीहरुको हो भनेर बुझ्न आग्रह गर्दछु।
                    तपाईंहरुले पार्टीलाई कहाँ पुराउनुभयो ? पार्टीलाई मधेसमा मात्र केन्द्रीत किन गर्नुभयाे ? हाम्रो पार्टी सबै नेपाली जनताको अधिकार प्राप्तिका लागि हो कि मधेसीको मात्र हो ? मोर्चाको नाम- 'संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा' मात्र किन भयाे ? आन्दोलनको मोर्चाकाे नाम पनि सबै नेपालीलाई समेट्ने किन भएन ? अान्दाेलनले राष्ट्रिय रुप किन लिन सकेन ? एकीकरणपछि पार्टीमा समावेसीकरणकाे विषय किन छाडियाे ? यस्ता प्रश्न उठाउनुपर्दा याे पार्टी निर्माणका लागि सुरुदेखि नै लागेका हामीजस्ता अगुवाहरुलाई ग्लानी भइरहेको छ।
                   संघीय समाजवादी पार्टी गठन हुँदा हामीमा ठूलो उत्साह थियाे। अब देश हाक्ने पार्टी बन्छ भन्ने विश्वास थियो। तर, हाम्रो पार्टी पहाडबाट मधेस झरयो। पार्टी अब दसगजा वारी नेपालमा कि पारी भारतमा छ भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको छ। यस्ताे अवस्था किन र कसरी अायाे ?
                  जातीय उदारताको माग गर्दै हामीले पार्टी खोल्यौं। जातीय विभेद भयो, विभेदको अन्त्यका लागि आदिवासी-जनजाति ,थारु, मधेसी ,मुस्लिम ,दलित, खस, लगायत सबै समुदायको नेतृत्वको पार्टी बनाउने भनेर संघीय समाजवादी बनायौं। पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने विश्वास थियोे तर पार्टीलाई मधेसी र केही आदिवासी-जनजातिमा सीमित बनाउने प्रपंच गरियो। केही जाति-समुदायको घेरामा पार्टीलाई सीमित गर्न खोजिएकाे छ। 
                  यसरी पार्टी चल्दैन, पार्टी बन्दैन भन्ने हाम्रो आवाज सुनुवाइ गरिएन। विगतमा मैले पार्टी अध्यक्ष देखि अन्य नेताहरुसँग पनि भन्ने गरेको थिएँ- क्षेत्रीबाहुनले सबै समुदायको नेतृत्व गर्न सक्छन् भने हामी आदिवासी-जनजातिले किन सक्दनौं ? किन हामी जातीय संकीर्णतामा फस्दैछौं ? तर तपाईंहरुको जवाफ प्रष्टसँग अाएन। पार्टी फैलाउने होइन पार्टी खुम्च्याउँदै लगियो, जनजातिले अरुको नेतृत्व गर्न हुँदैन, जनजाति मात्र पार्टीमा बस्नुपर्छ भन्ने संकीर्णतावाद हावी गर्दै लगियो। 
                 पार्टी गठनदेखि गत आमचुनावसम्म आइपुग्दा हाम्रो पार्टी सीमित जातीय घेरामा सीमित भइसकेको देखिन अायो। चुनावमा म झापा क्षेत्र नम्बर पाँचबाट उम्मेदवार भएको थिएँ। चुनावको बेला हामीले सबै समुदाय समेट्ने रणनीति बनाउनुपर्छ भनेर बारम्बार आवाज उठायौं तर व्यवहारमा पार्टीलाई खुम्चाउने प्रयास जारी राखियो। त्यति ठुलो उत्साहसाथ खुलेको पार्टी समानुपातिकमा पाँच सिटमा सीमित भयौं, त्याे पाँच सिट पनि अग्रिम बुकिङ भइसकेको रैछ भन्ने चुनावपछि मात्र बुझियो। चुनावपछि प्रत्यक्ष उम्मेदवारहरुलाई पार्टीले धन्यवाद समेत दिएन। केही मानिस समानुपातिक सभासद बन्नलाई खुलेको जस्ताे भयाे संघीय समाजवादी पार्टी।
                 चुनावपछि धेरै साथीहरुले पार्टी छाडे। पार्टीमा रहेका हामीले प्रयास जारी राख्यौं, संघीय समाजवादीलाई राष्ट्रिय स्वरुप दिनुपर्छ, आदिवासी-जनजाति नेतृत्वमा सबै समुदायलाई समेटेर समावेसी पार्टी बनाउनुपर्छ भन्ने आवाज सुनुवाइ गरिएन। त्यसैले पार्टी झनझन खुम्चिदैं गयो। त्यसपछि मधेसी जनअधिकार फोरमसँग एकीकरणको कुरा आयो। अब चाहिँ पार्टीले देश समेट्छ भन्ने लाग्यो। 
                मधेसी समुदायमा सीमित फोरम र संघीय समाजवादीले एकीकरणपछि हिमाल पहाड तराई समेट्छ भन्ने आशा जाग्यो। यो आशा अब निराशामा परिणत भएन र ? हामी कस्तो पार्टी बन्यौं उपेन्द्र सर अशोक सर ? जवाफ दिनुहोला। यस्तै गर्नलाई एकीकरण गरिएकाे हो ? संसदभित्र चाहिँ फैलने तर जनतामाझ चाहिँ खुम्चिने काम किन गरियो ? जनविश्वास जित्ने, सबैलाई समेट्ने काम नगरेर किन खुम्चिने काम गरिँदैछ ?
               अरु पुराना पार्टीले जाति र पार्टीभन्दा माथि उठेर देश भन्न जानेनन्, पार्टीगत स्वार्थमा देश बरबाद बनाए, सबैलाई समेट्न सकेनन् भनेर हामीले पार्टी खोल्यौं।जातीय विभेद विरुद्ध 'जाति र पार्टीभन्दा माथि उठौं, सबैलाई समेटौँ' नारा दिन किन सकेनौं ?
                यो स्वाभाविक हो - संविधान निर्माणमा पार्टीको अवधारणा लागू गर्नु शक्ति पुग्दैनथ्यो, आफ्ना माग मुद्दा संविधानसभामा दर्ज गराएर आउँदो चुनावमा तिनै मुद्दा बोकेर जनतामाझ जानुपर्छ भन्ने हाम्रो विचार हो। कि राष्ट्रियस्तरको आन्दोलन गर्नुपर्थ्याे नत्र भविष्यमा पहल हातमा लिन जनतामाझ जानुपर्छ। पार्टीलाई विस्तार गरेर सबैलाई समेट्ने अनि आउँदो चुनावमा संविधान संशोधनको मुद्दा लिएर जनतामा जाने तयारी गर्दा राम्रो हुँदैन र ? तर, मधेसमा मात्र आन्दोलन गरेर सबैकाे माग पूरा हँदैन। मधेसी मोर्चाले उठाएको कतिपय मुद्दा राष्ट्रिय मुद्दा हाेइनन्। तपाईंहरुले मधेसी जनताको एउटा पंक्तिकाे मन जित्नु होला तर पार्टीपंक्तिको विश्वास गुमाउनु भएको छ।
                 अब पार्टीलाई सच्याउनुपर्छ, तपाईंहरु सच्चिनु पर्छ। सच्याउने काम थालिहाल्नु पर्छ। यदि मधेसी मोर्चाले भारतको अाडमा आन्दोलन गरेको हो भने हाम्रो पार्टीले मोर्चा छाडेर नयाँ तरिकाले अगाडि बढनुपर्छ। यो बिन्दुबाट पार्टीलाई सच्याउने काम थालौं, सबैलाई समेट्ने समावेसी पार्टी निर्माण गरौं।
देब लिम्बू लाबुङ
सङघीय युवा संघ, नेपाल
केन्द्रीय सदस्य
तथा
सङघीय समाजवादी फोरम, नेपालका इमानदार साथीहरु
प्रकाशित मिति: 19th October 2015

बाट साभार http://www.sakaraatmak.com/
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment