काठमाडौं- मान्छे कत्ति सारो स्वार्थी हुँदा रहेछन् भन्ने कुरा अकल्पनीय विषय रहेछ । यो कुरा पहिचानसहितको सङ्घीयताकोबारेमा गंभीर मतभेदका कारण भएको नेकपा एमालेभित्रको सङ्घीयताका पक्षधर नेता र कार्यकर्ताहरुको विद्रोह पछि बढी प्रष्ट भएको छ । यस विद्रोहले आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित भित्रका चरम स्वार्थी, व्यक्तिवादी, निकृष्ट र दासहरुलाई पनि लोककासामू नङग्याइदिएको छ ।
नेकपा एमालेमा भएको विद्रोह पद, स्वार्थ, लोभ लालच र व्यक्तिवादी सोचभन्दा पर एमालेभित्रकै छोराछोरीघातक र जातीघातक आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलितहरुका विरुद्ध र पार्टीको पद, प्रतिष्ठा र पार्टीलाई नै हामीमाथि जातीय अश्त्रको रुपमा प्रयोग गर्ने ब्राम्ह्णवादी नेताहरुको विरुद्धको विद्रोह थियो । नेकपा एमाले सबैखाले विभेदका विरुद्ध राजनीतिक धर्म बोकेको कम्युनिष्ट पार्टी थियो । तर त्यसले कम्युनिष्ट हुनुको नाताले गर्नुपर्ने वर्गीय राजनीतिलाई पुरै तिलाञ्जली दिएर यसका नेताहरु र पहुँचवाला नेता कार्यकर्ताहरु नवधनाड्य वर्गमा परिवर्तन भइसकेका छन् ।
एमालेले तथाकथित उच्च जात भनाउँदाबाहेकका जातजातिहरुलाई कहिले ब्राह्मण-क्षेत्री सरह महत्व दिएन र टालटुलमात्र गरिरह्यो । कम्युनिष्ट ब्राह्मण, कम्युनिष्ट क्षेत्री हुनुपर्नेमा ब्राह्मण कम्युनिष्ट र क्षेत्री कम्युनिष्ट भएर काम गरे । अरु जातजातिहरुलाई समान अवसरकालागि कहिले पनि योग्य सम्झेन । यसको उत्तर दिन अशोक राईलाई उपाध्यक्ष, मन्त्री, सांसद आदि बनाएकै त हो नि पार्टीले पनि भन्न सक्छन् । तर पार्टीलाई अशोक राईले पनि बनाएको हो नभत्र पनि सक्छन् । तर अशोक राईभन्दा धेरै धेरै पटक विभिन्न अवसरहरु उनीहरु आफैँले मात्रै लिने गरेको चाहिँ हिसाब गर्दैनन् । विजय सुब्बालाई मन्त्री र चुनावमा टिकट नदिएर पार्टी छाड्यो भन्न सक्छन् तर आफ्ना दासहरुलाई सबै चुनावमा टिकट दिएको, मन्त्री बनाएको, चुनाव नजित्ने भएपछि समानुपातिकबाट संसदमा लगेको कुरा नभन्न सक्छन् । यसबाट पनि प्रष्ट हुन्छ वास्तवमा एमालेका ब्राह्मणवादी नेताहरुको सम्पूर्ण पंक्ति नै आफ्नै जातिका मान्छेहरुमात्रै योग्य छन् भन्ने सोचिरहेका छन् । यतिसम्म कि उनीहरु क्षेत्री समुदायका मान्छेहरुलाईसमेत ब्राह्मण सरह योग्य मान्दैनन् ।
कम्युनिष्टहरु सबै खाले विभेदका विरुद्धमा राजनीति गर्ने धर्म राख्छन् । तर एमालेका नेताहरु भने जातीय विभेद कायमै राख्न चाहन्छन् भन्ने कुरा संविधान सभाको विघटनमा प्रमुख भूमिका खेलेपछि लोकलाई प्रष्ट भएको छ । संविधान सभाको शुरुवातकालदेखिनै नेताहरु इमान्दार भइदिएको भए २०६९ जेठ १४ अगावै नै संविधान बनिसक्थ्यो । तर एमाले, कांग्रेस र एनेकपा माओवादी कोही पनि संविधान बनाउने पक्षमा लागेनन् । संविधान सभामा सबै पार्टीहरुका तथाकथित उच्च जात भनाउँदाहरु विशेषतः ब्राह्मणहरुको अभूतपुर्व जातीय एकता थियो त्यसकारण संविधान बन्न सकेन । झलनाथ खनाल, शुशील कोइराला र प्रचण्डका पार्टीहरुले अन्ततः हाम्रो विरुद्ध ऐतिहासिक अपराध गरेरै छाडे बिल्कूल आफ्नो जातीय हालीमुहालीको निरन्तरताकालागि । अब आजसम्म नेपालमा रहेको ब्राह्मण-क्षेत्रीको जातीय अग्राधिकारसहितको जातीय राज्य नेपाल कहिलेसम्म रहिरहने हो बहिष्करणमा पारिएका जातजातिहरुको आन्दोलनको सशक्ततामा भर पर्नेछ ।
जातिवादी नेताहरुभन्दा पनि अचम्म त आदिवासी जनजाति, मधेशी, दलित र मुस्लिम नेताहरुकोबारेमा सोच्दा लाग्छ । उनीहरु आफू र आफ्नो समुदायका विरुद्धमा संविधानसभा विघटनमार्फत् भएको नेपालकै सबैभन्दा ठूलो र गंभीर अपराधलाईसम्म बुझ्न सक्दैनन् । जुन त्रिभुवन, महेन्द्रलगायतका राजाहरुले विगतमा नेपाली जनतामाथि गरे सरहको अपराध थियो हाम्रोलागि । आज सुदुर पश्चिम दार्चुलाका ब्राह्मण-क्षेत्रीहरुलाई सुदुर पूर्वका झलनाथ खनालले सङ्घीयताका विपक्षमा बोल्न नसिकाए पनि आफैँ बोलिरहेका छन् । त्यसैगरि एमालेका ११५ जना केन्द्रीय कमिटीका सदस्य मध्ये ६६ जना (करीब ५८ प्रतिशत) केन्द्रीय नेताहरु ब्राह्मण-क्षेत्री समुदायका छन् । वास्तवमा पार्टीको धर्मअनुसार उनीहरु जातीय समानताका पक्षमा पनि बोल्नुपर्ने हो तर त्यसो गर्दैनन् । यसरी केही असल ब्राह्मण-क्षेत्री बाहेकका सारा ब्राह्मण-क्षेत्रीहरु आफ्नो विरुद्धमा अनाहकमा बोलेको देख्दा पनि अरु जातिको चेत खुलेको छैन । पार्टीको महाधिवेशनले अनुमोदन गरेको एकल पहिचान सहितको सङघीय प्रदेशको खाकालाई तहसनहस पारेर राजा महेन्द्रवादी राज्यको पुनःसंरचनाको अवधारणा ल्याइसक्दा पनि एमालेभित्रका गैर ब्राह्मण-क्षेत्रीहरुको बुद्धिको बिर्को खुलेको छैन । यतिसारो जातीय राजनीतिको बिगबिगी हुँदा पनि आखिर आदिवासी जनजाति, मधेशी, दलित र मुस्लिमहरु किन एमालेमै बसिरहेका होलान् हँ ?
केही मान्छे भन्छन् यत्रो वर्ष एमालेमा काम गरियो मर्दा हँसिया हथौडाको झण्डा ओढ्ने इच्छा छ । तर मरेपछि हँसिया र हथौडाको झण्डा ओढ्ने इच्छा गर्नेलाई कसैले राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो भएको झण्डा ओढायो भने उस्ले थाहा पाउँछ त ? थाहा पाउँदैन । यस्तो बेअर्थको तर्क र भावनामा लागेर जातीय राजनीति गर्ने झलनाथ, सुशील र प्रचण्डको जातीवादी पार्टीलाई किन सहयोग गर्ने ? अर्को कुरा हँसिया र हथौडाकै नाममा जातीवादी नेताहरुले आदिवासी जनजाति, मधेशी, दलित र मुस्लिमप्रति गद्दारी गरिसकेका छन् । त्यही नाममा हामी र हाम्रा सन्ततिका विरुद्ध राजनीति गरिरहेका छन् । अनि त्यही नाममा आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिमहरुले उल्टै हामी विरुद्धका नेताहरुलाई बलियो बनाएर आफ्नै विरुद्ध राजनीति गर्ने ? आफू मन्त्री, सांसद, नेता, सभापति आदिकैलागि दास बनेर ती नेताहरुलाई शक्तिशाली बनाउने र उनीहरुमार्फत् आजकै जस्तो तथाकथित उच्च जात भनाउँदाहरुको जातीय अग्राधिकारसहितको जातीय राज्यलाई निरन्तरता दिने ?
अति समान्य कुरा हो, कहिँ कतै समानुपातिक समावेशीकरणको गुन्जायश नभएपछि आफ्नै छोराछोरीहरुले जागीरमा प्रतिस्पर्धा गर्न सक्दैनन् र अन्ततः आजकै जस्तो तथाकथित उच्च जात भनाउँदाहरुको मात्रै हालीमुहाली चलिरहन्छ । प्रतिस्पर्धा गर्न नसक्नुको कारण भाषा उनकै, विषय उनकै, परिक्षक उनकै, प्रश्नपत्र बनाउने उनकै, अन्तर्वार्ताकार उनकै हुनु हो । परिक्षार्थीको नाम हुन्न नि त त्यसैले निष्पक्ष हुन्छ भन्छन् यथास्थितिवादीहरु तर परिक्षार्थीको नाम नलेखेर के भो र मधेशी, मुस्लिम, नेवार, तामाङ्ग, लिम्बु, भोटे, शेर्पा आदिले लेखेको भाषा हेर्दै थाहा हुन्छ अनि परिक्षकले किन पास गराउँछ उनीहरुलाई । हाम्रो इतिहास, हाम्रो विषय, हाम्रै परिक्षक, हाम्रै प्रश्न बनाउने, हाम्रै अन्तर्वार्ताकार आदि हुँदो हो त जागीरमा सबै ब्राह्मण-क्षेत्री मात्रै हुने थिएनन् आज । पञ्चामृत के के ले बन्छ भन्ने प्रश्नको सट्टा आफ्नो पूर्खालाई पूजामा चढाउने जाँड रक्सि के के ले बन्छ ? भक्का कसरी बनाइन्छ ? भन्ने प्रश्न राख्दा को बढी लोकसेवा आयोगको परिक्षामा उत्तिर्ण हुन्थे होलान् । आदिकवि भानुभक्तकोबारेमा सोध्नुको सट्टा इमानसिं चेम्जोङ, शङखधर साख्वा, विद्यापति, रामप्रसाद राई, सर्बजीत विश्वकर्मा, भोजपुरी भाषाका शेक्सपियर मानिने भिखारी ठाकुर आदिकोबारेमा प्रश्न सोधेको खण्डमा को बढी लोकसेवा आयोगमा उत्तिर्ण हुन्थे होलान् ? हो, यहीँ नै अत्याचार भएको छ आजसम्म । पञ्चामृत, भानुभक्त, हिन्दू संस्कार र संस्कृतिजस्ता विषयमा प्रतिस्पर्धा गर्नुपरेकै कारण पनि हाम्रा मान्छेहरुले जागीरमा प्रवेश गर्न नसकेका हुन् । हाम्राहरुकालागि जागीरमा प्रवेश गराउन हाम्रै सन्दर्भको विषयमा परिक्षा लिइनु पर्छ । अर्थात् मधेशी र मुस्लिमहरुलाई शाखा अधिकृत बनाउन उनीहरुकै क्षेत्रकाबारेमा परिक्षा लिएर जागीरमा प्रवेश गराइनु पर्छ । नत्र भने आजकै जस्तो परिक्षाको विधी र विषय राखिरहने हो भने मधेशी र मुस्लिमहरुको त कुरै छाडौँ कोही पनि गैर ब्राह्मण-क्षेत्रीहरु कर्मचारी क्षेत्रमा छिर्न सक्ने छैनन् ।
यहाँ योग्यताको प्रश्न आउला सबैथोक जान्नुपर्छ भनेर, त्यसोभए ब्राह्मण-क्षेत्रीहरु पनि त ब्राह्मण-क्षेत्रीबाहेकका विषयमा जानकार हुन्नन् नि ! जसरी हाम्रा मान्छे उनीहरुको बारेमा जानकार हुन्नन् र प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । जसको परिणाम आजको कर्मचारीतन्त्रको असमावेशी तस्विर नै हो । यसरी हाम्रालागि बन्द ढोकाहरु बन्दको बन्दै राखिरहन चाहने यी नेताहरुलाई बलियो बनाउनु भनेको आफ्नै छोराछोरीहरुलाई जागीरमा प्रवेशबाट रोक लगाउनु हैन ? अनि नितान्त आफ्नो मात्र स्वार्थ हेरेर एनेकपा माओवादी, काङग्रेस, एमाले आदिजस्तो जातीय पार्टीमा रहनेहरुले किन छोराछोरी पढाउनु होला आखिर पढेपनि जागीर त जित्न सक्ने हैनन् । के यो आफ्नै छोराछोरीहरुको विरुद्धको राजनीति भएन र ? अब यस्ता आफ्नै छोराछोरीकै विरुद्ध गद्दारी गर्ने गद्दार बाबुआमा विरुद्ध छोराछोरीहरुले विद्रोह गर्नेवेला आएको छ ।
एमालेमा अझै पनि आफ्नो लगानी किन छाड्ने भन्ने पङक्ति छ । तर आजसम्मको लगानी नेताहरुलाई घर, गाडी र सम्पत्ति जोड्नमात्र गरिएछ, अनि वर्गीय मुक्तिको कुरा नेताहरुमा गरीववाट धनी वर्गमा रुपान्तरण गराउनमा मात्र प्रयोग गरिएछ भन्नेसम्म उनीहरु बुझ्दैनन् । हाम्रो लगानी पुरानै ब्राह्मण-क्षेत्रीको जातीय अग्राधिकारसहितको जातीय राज्यलाई अझै कायम राख्नकालागि भएन र ? पूर्ण समावेशी लोकतान्त्रिक व्यवस्थाको विपक्षमा पुरानै असमावेशी, साम्प्रदायिक र जातीवादी नेताहरुलाई मात्र बोकिएन र ? हामीले के पायौँ ? एमालले नै भनेजस्तो एउटै सिक्काको दुइ पाटा मध्ये एउटा पाटा जातीय मुक्तिको हैसियत जातीय समानता पायौँ ? अब कहाँबाट लगानी उठाउन सकिन्छ र ? अशोक राइले उनीभन्दा तल्लोतहकाहरुलाई अगाडि बाटो छाडेर लगानी उठाउनु पर्ने हो ? हामीहरुले सबै अवसरहरु ब्राह्मण-क्षेत्रीहरुलाई दिएर नभड्किउन् भन्नाका खातिर दिइएको अवसरमात्र लिएर लगानी उठाउनु पर्ने हो ? जहाँ उनीहरुको बलियो उपस्थिति छैन र स्वतः हामी अघि हुन्छौँ त्यसैलाई पार्टी वा उनीहरुले दिएको हिसाव गरेर बस्नुपर्ने हो ? अपमान र अवमूल्यनमात्र सहेर लगानी उठाउनुपर्ने हो ? कम्तिमा यतिसम्म त बुझौँ ।
अचम्मको कुरा कथित ठूला पार्टीहरुमा के राम्रो के नराम्रो भनेर छुट्याउनसम्म पनि नसक्ने र स्वार्थी आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमहरुको ठूलो संख्या छ । उनीहरुको दिमागले आजको प्रमुख सवाल पार्टी छाड्ने कि नछाड्ने हैन, हामी र हाम्रो जाति समुदायका समानताकोलागि लड्ने कि नलड्ने भन्ने सवाल पो हो भन्नेसम्म सोच्न सक्दैन । आजका दलितहरु आदिवासी जनजातिहरु सरह हुँदा कस्को के विग्रन्छ ? दलित, आदिवासी जनजाति, मधेशी र मुस्लिमहरु ब्राह्मण-क्षेत्री सरहहुँदा कस्को के विग्रन्छ ? सिधै प्रश्न गर्ने हो भने सबै जातजातिहरु समान हुँदा शुशील कोइरालाको पार्टी र कम्युनिष्ट भनिएका पुष्पकमल दाहाल र झलनाथ खनालको पार्टीहरुको के विग्रन्छ र विग्रन्थ्यो ? हाम्रो विरुद्ध कम्युनिष्ट र गैरकम्युनिष्ट दुवै थरी ब्राह्मण-क्षेत्रीहरुको अभूतपूर्व जातीय एकता किन जरुरी थियो ? अतः वर्गीय समानताको कुरा गर्ने तर आफ्नैमात्र वर्गीय उत्थान गर्ने तथाकथित करोड र अरबपति कम्युनिष्टहरुले कम्युनिष्टले त वर्गीय समानताको मात्र कुरा गर्ने हो भनेर लैङ्गिक समानता, जातीय समानता, क्षेत्रीय समानताको बाटोबाट अन्यत्रै ध्यान मोड्ने प्रयास जो गरिरहेछन् त्यसबाट सचेत हुन जरुरी भइसकेको छ । त्यसैगरि वर्गीय समानतालाई विष देख्ने र ब्राह्मण-क्षेत्रीको जातीय अग्राधिकारलाई मात्र लोकतन्त्र देख्ने नेपालका कथित ब्राह्मणवादी लोकतन्त्रवादीहरुबाट पनि तत्कालै सचेत हुनुपर्ने भएको छ ।
अन्तमा निस्कने निश्कर्ष एउटै मात्र हो नेकपा एमालेमा भएको यो विद्रोहले नेपालकै राजनीतिक इतिहासमा समानताको आन्दोलनको ऐतिहासिक बाटो पक्डेको छ । यस विद्रोहले संविधान सभाबाट संविधान बन्न नदिइ नेपाली जनतामाथि ऐतिहासिक अपराध गर्ने नेपालका राजनीतिक दलहरुका विरुद्धमा जातीय र वर्गीय मुक्तिकालागि फरक धारको वैकल्पिक शक्ति जबरजस्त रुपमा स्थापित गर्नेछ । जुन यी जातीय नेताहरुका कारण हुने जातीय द्वन्द्वलाई सामना गर्न तयार रहनेछ ।
Note: लेखक सुब्बा एमालेका पूर्व बैकल्पिक पोलिटब्यूरो सदस्य र हाल ‘संघीय समाजवादी पार्टी, नेपाल’ का केन्द्रिय उपाध्यक्ष हुन्।
From http://nepalisamachar.com/?p=124
0 comments:
Post a Comment