Breaking News
Loading...
######
Thursday, April 16, 2015


किन जन्मन्छन् सीके राउतहरु ?
खिम घले -
पछिल्लो समयमा नेपाली राजनीतिमा डा. सीके राउत चर्चाको विषय बनेको छ । कोही उनले मुलुकलाई बिखण्डनको दिशामा लान लागको भन्दै सख्त कारवाहीको माग गर्छन् । कोही उनले उठाएका मुद्दाहरु मधेसी जनताको असन्तुष्टिको निकास भएकोले त्यसै अनुसार व्यवहार गर्नुपर्ने बताउँछन् । मधेसी राजनीतिक दलका नेताहरुको भनाई भने आफुहरुलाई ‘साइज’ मा ल्याउन र आफुहरुको प्रभावलाई मधेसमा कमजोर बनाउन राउतलाई राज्यपक्षले हिरो बनाइरहेको आरोप लगाउँछन् ।
कारण र आशय जेसुकै भएपनि नेपालमा अहिले सीके राउत एउटा चर्चाको पात्रा बन्दै गएको छ । तराईको समथर भूमिमा उनको कुरा सुन्ने उत्सुक र जिज्ञासुहरुको संख्या बढ्दै गएको छ । बिशेष गरेर मधेसी युवाहरुमा उनप्रतिको चासो र आकर्षण दुबै बढेको छ । उनको कुरा सुन्न लालयितहरुको संख्या दिन प्रतिदिन बढेको छ । तर, शनिबारदेखि मोरङ जिल्ला प्रशासन कार्यालयले उनको गतिविधिहरुमा रोक लगाएको छ । उनलाई सार्वजनिक भाषण गर्न दिइएको छैन ।
उनको कार्यक्रम रोक लगाउनका लागि परिचालित प्रहरी र उनको समर्थकहरु बीच शनिबार र आइतवार दुवै दिन झडप भएका छन् । आइतवारको झडपमा उनका समर्थकहरु मध्ये केही घाइते भएका छन्भने राउतको खुट्टा भाँच्चिएको छ । उनलाई राष्ट्रिय एकता र अखण्डता विरुद्धमा लागेको आरोप लगाउँदै उनको कार्यक्रमहरुमा रोक लगाइएको हो । 
 
को हुन् राउत ?
पुरा नाम चन्द्रकान्त राउत रहेका सीके प्रति युवाहरुको आकर्षण बढ्नुको कारण उनको शैक्षिक योग्यता र उनले अमेरिकामा पाएको रोजगारीलाई त्यागेर नेपाल आउनु रहेको छ । सप्तरीको सामान्य परिवारमा जन्मेका राउतले टोकियो विश्व विद्यालय हुँदै अमेरिकास्थित क्याब्रिज यूनिभर्सिटीबाट कम्प्युटर साइन्समा पीएचडी गरेका छन् । त्यस पछि उनले अमेरिकी बैज्ञानिकहरुको संस्था नासामा काम पाए । उनको नजिकका व्यक्तिहरुका अनुसार उनले त्यहाँ पाएको जागिर र अम्दानी सामान्य नेपालीका लागि कल्पना बाहिरको थियो । 
तर, राउत त्यहाँ रमाएनन् । अमेरिकाका बसाई र जागिर छाडेर सन् २०११ तिर उनी नेपाल आए । सुरुमा आउँदा उनीसंग कुनै योजना भएको जस्तो देखिएको थिएन । तर, विस्तारै उनले काठमाडौंको सट्टा तराई–मधेसका गाउँहरुमा आफुलाई केन्द्रित बनाउँदै लैजान थाले । उनले मधेस स्वराज नामक अभियान सुरु गरे । उनको अभियानको मूल ध्येयको रुपमा उनले मधेसमाथि नेपाली राज्यले उपनिवेश लाद्यो भन्न रहेको छ । उनको लेख रचना तथा बक्तव्यहरुमा छुट्टै अस्तित्व भएको मधेस माथि पहाडी नेपाली राज्यले उपनिवेश लादेको भन्ने गरेका छन् । साथै उनले त्यसबाट छुटकारा पाउनको लागि मधेसी जनता आफै जागरुक हुनुपर्ने जुर्मूराएर उठ्नु पर्ने भन्ने गरेको छ । उनी अहिले पनि त्यही मधेस स्वराज अभियान चलाइ रहेका छन् । तर, उनले अदालतमा भने सिधै मधेसलाई छुट्टै राज्य बनाउने आफ्नो उद्देश्य नभई यही प्रकारको विभेद रहेमा मधेस छुट्टिन्छ भनेको बताएका छन् । 
 
पक्राउ र रिहाई
मधेस स्वराज अभियान चलाइरहेकै बेला करिव चार महिनाअघि उनलाई सुनसरीको रंगेलीबाट प्रहरीले पक्राउ गर्यो । उनलाई राष्ट्रिय एकता र अखण्डताको बिरुद्ध षडयन्त्र गरेको भन्दै देशद्रोहको अभियोग लगाइयो । अदालतमा मुद्दा दर्ता हुनुअघि नै उनका वकिलहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले ।
सर्वोच्चको आदेशमा उनलाई काठमाडौं ल्याइयो । राउतको देशद्रोहको मुद्दा बिशेष अदालतमा पुग्यो । उनका समर्थनहरुको सर्वोच्च अदालतको परिसरमै समेत नारावाजी गरे । त्यसमा पनि बिशेष गरेर राजधानीमा बढ्दै गरेका मधेसी युवाहरुको संलग्नता थियो । 
उनलाई देशद्रोहको मुद्दामा अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । तर, उनले त्यसलाई प्रचार ‘स्टन्ड’को रुपमा प्रयोग गरे । धरौटी तिरेर निस्कनुको सट्टा उनले अमरण अनसन घोषणा गरे । उनी केही समय अनसनमा समेत बसे । यति मात्र होइन, उनले चार खालस्थित बन्दी गृहमा आफुमाथि दुव्र्यवहार गरिएको दावी गरे । यसले पनि उनीप्रति सहानुभूति राख्नेहरुको संख्या बढायो । अन्तत् उनी धरौटीमा रिहाइ भए र फेरी तराई मधेसका जिल्लाहरुमा आफ्नो अभियान सुरु गर्न पुगे । 
 
सरकारले हिरो बनायो
पक्राउ गरिनु अघिसम्म सीके राउतका बारेमा खासै चर्चा र चासो थिएन । राजधानी र पहाडी क्षेत्रमा त के तराई मधेसका समाजमा समेत राउतको पहुँच सिमित थियो । उनका कार्यक्रमहरु बन्द कोठा भित्र हुन्थे । उनको कुरा सुन्नेहरुले पनि त्यति वास्ता गर्दैनथे । तर, उनको पक्राउ र धरौटीमा रिहाइसंगै उनीप्रतिको चासो बढेको छ । उनको कुरा सुन्नका लागि जम्मा हनेहरुको संख्या बढेको छ । 
यसलाई मधेसी दलका नेताहरुले सरकारले बनाएको हिरो भनेका छन् । उनीहरुले पक्राउ परेको बेला सामुहीक रुपमै रिहाईको अपील गरेका थिए । साथै सरकारलाई आफुहरुको प्रभाव घटाउन सीके राउतलाई हिरो बनाउने योजना अनुरुप पक्राउ गरेको आरोप लगाएका थिए । 
मधेसी नेताहरु मध्ये सबैभन्दा पाका महन्थ ठाकृुरले गृहमन्त्री वामदेव गौतमलाई एउटा कार्यक्रममा राउतले भनेको कुरा आफुले बर्षौदेखि भन्दै आए पनि उनलाई अहिले समाउनुका कारण सोधेका थिए । ‘यही कुरामा समातेको हो भने मलाई त तपाईले उहिल्यै समात्नु पर्ने भनेर भनें’ ठाकुरले एक अनौपचारिक कुराकानीमा भनेका थिए । 
त्यसो त मधेसी नेताहरु मात्र होइन, अन्यले पनि उनको पक्राउ अनि रिहाईलाई एउटा अनौठो घट्नाकै रुपमा लिए । कतिपयले संघीयतालाई नरुचाउने पक्षले राउतलाई देखाएर यसले मुलुकलाई बिखण्डन गर्छ भन्ने देखाउनका लागि पनि यो कदम चालेको अनुमान लगाए । यद्यपी उनलाई किन समातियो, धरौटीमा रिहा किन गरियो ? भन्नेमा आशंका कायमै छ । त्यस पछि पनि कहिले उनको कार्यक्रम रोक लगाउने, कहिलो समातेर छाड्ने गरिरहेकै छन् । 
 
राउतहरु किन जन्मिन्छन् ?
राउतले अहिले जे भनेका छन् । मधेसी दलहरु गठन हुँदा तिनका नेताहरु पनि यसै भन्थे । उनीहरुको भनाई मधेसमा पहाडी ‘औपनिवेश’ भयो भन्ने नै थियो । यो कुरा धेरै अघि नेपाल सद्भावना पार्टी गठन गर्ने गजेन्द्रनारायण सिंले पनि भनेका थिए । अझै पनि तिनीहरुले आवश्यकता अनुसार त्यस्तो भनाई राख्ने गर्छन् । मधेस आन्दोलन हुनुको पछाडीको कारणहरु मध्ये एउटा मधेसीहरु माथि अरुले शासन गर्छन् भन्ने नै थियो । 
मधेस आन्दोलनपछि मधेसी नेताहरुले नेपालको राजनीतिमा निक्कै ठूलो हिस्सा ओगट्यो । राष्ट्रपति, उपराष्ट्रपति र प्रभावशाली मन्त्री मधेसी नेताहरु बने । मधेसबाट काठमाडौं पढ्न आउनेहरुको संख्यामा केही प्रतिशत बृद्धि भएको छ । तर, अझै मधेसको अवस्था ज्यूँकात्यूँ छन् । त्यसपछिका समयमा पनि खासमा मधेसी जनताको जीवनस्तर, तिनले प्राप्तगर्ने अधिकार र तिनीहरुको आत्मसम्मानमा बढोत्तरी भएको छैन । 
अझ दोस्रो संविधानसभाको निर्वाचनपछि मधेसी दलका नेताहरु शक्ति हीन हुँदै गएका छन् । प्रधानमन्त्री सुशील कोइरालादेखि एमाले नेता केपी ओलीसम्मले मधेस र आदिवासी जनजातिका बारेमा कुरा गर्नेहरुलाई बिखण्डनकारी भनेर लल्कार्न थालेका छन् । यस्तो अवस्थामा उत्पीडित समुदायको मध्यमार्गी धारमा रहेका दल तथा अगुवाहरु कमजोर देखिन थालेका छन् । 
समस्या ज्यूकात्यू रहनु र विगतमा भएका सम्झौता र सहमतिहरुको कार्यान्वयन हुनुको सट्टा त्यसलाई लत्याउने खालका अभिब्यक्तिहरु आइरहनु भनेको सीके राउतहरुको लागि मैदान तयार हुनु हो । मधेसमा मात्र होइन, जनजाति आन्दोलनमा पनि यस्ता राउतहरु जन्मने खतरा बढ्न थालेको छ । यिनीहरुको समर्थकहरुको संख्यामा बढोत्तरी हुनु राम्रो संकेत होइन । 
 
अबको बाटो 
सीके राउतका अभिव्यक्तिहरु राष्ट्रिय एकता र अखण्डताका लागि चुनौती हुन् । उनको हालसम्मका भनाईहरुबाट निचोड के निकाल्न सकिन्छ भने उनको भित्री अभिष्ट मधेससंग स्वराजको अधिकार छ भन्ने नै हो । यसको अर्थ स्वतन्त्र मधेसको वकालत हो भनेर अथ्र्याउन मिल्छ । तर, प्रश्न के राउतको मुख थुनेर यो विषयलाई साम्यपार्न सकिन्छ । के नेपाली राज्य साँच्चि नै मधेसी, जनजाति र अन्य उत्पीडित उपेक्षितहरुको लागि आत्म सम्मानपूर्वक वाँच्न पाउने खालको छ ?
यी सबै प्रश्नको उत्तर भनेको नेपाली राज्यको स्वरुपको पुर्नसंरचनाले मात्र मधेसमा होस् या जनजातिमा होस् जन्मिएका र भविश्यमा जन्मिने राउतहरुको मुकाविला गर्न सक्छ । राज्यको पुर्नसंरचना गरेर वा काठमाडौं केन्द्रित, बाहुन क्षेत्री केन्द्रित र मध्य पहाडी भाग केन्द्रित राज्य संरचनालाई पुर्नसंरचना गरेर सबैले अपनत्व अनुभव गर्ने, सबैको हिस्सेदारी रहेको राज्यको निर्माणले मात्र राउतहरु जन्मिनबाट रोक्न सक्छ ।
हालै स्कटल्याण्डको स्वतन्त्रता संग्रामकै उदाहरण लिन सकिन्छ । बेलायती प्रधानमन्त्रीलगायत तीन जना प्रमुख नेताहरुले स्कटल्याण्डलाई यूकेभित्रै थप अधिकार दिने लिखित प्रतिबद्धताले टुक्रिनबाट जोगाउन सहज बन्यो । नकी स्कटिसहरुको मुख थुनेर संभव भएको हो ।
एभेरेस्ट टाईम्सबाट......
- See more at: http://www.everesttimes.net/article.php?type=article&aid=6941#sthash.vTJhsQMT.dpuf
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment