Breaking News
Loading...
######
Tuesday, January 20, 2015


हिजो 'गाउँ गाउँबाट उठ' भनेर गाउने एमालेजन अहिले नारायणहिटीको प्रेत जगाउने नयाँ संगीत रचनामा मुग्ध देखिन्छन्
-युग पाठक

दुई वर्ष अघि ‘रिडर्स क्लब झापा’ले आयोजना गरेको कला साहित्य उत्सवमा एक प्रमुख वक्ता थिए– मोदनाथ प्रश्रित । उनले बोल्ने विषय थियो : अब के लेख्ने ? आफ्नो लामो भाषणमा प्रश्रितले वेद–पुराणको सान्दर्भिकताका बारे पो धाराप्रवाह व्याख्यान दिए । भाषण सकिनासाथ एक एमाले समर्थक युवाले टिप्पणी गरे– अर्को चोटी बोलायो भने त यी बाजे ढ्याँग्रो लिएरै कार्यक्रममा आउलान् जस्तो छ !
Yug Pathak Photos 1
‘मानव’, ‘देवासुर संग्राम’, ‘नारी बन्धन र मुक्ति’ जस्ता पुस्तकका लेखक प्रश्रितबारे अचानक यस्तो टिप्पणी किन आयो त ? भूतप्रेत भ्रम हुन् भनेर बालबच्चालाई सिकाउने प्रश्रित आफैं ढ्याँग्रो बोक्ने चेतनामा पुग्नु पक्कै स्वभाविक होइन । धर्मको भ्रमबारे उनकै प्रशिक्षण सुनेर हुर्किएका एमाले नेताहरु आज आएर धर्मको अपरिहार्यताबारे पनि उनकै मुखारवृन्दबाट प्रशिक्षित भैरहेका छन् । अध्यक्ष केपी ओलीमा पैदा भएको धार्मिक चेतनाले पक्कै प्रश्रितलाई पुलकित तुल्याएको हुनुपर्छ । त्यसैले ओलीले स्थायी समिति बैठकमा धार्मिक प्रवचन दिन प्रश्रितलाई निम्ता दिए । प्रश्रितले शाक्त, शैव, वैदिक, वैष्णव र बुद्ध धर्म नेपालमै जन्मिएकोले देशलाई धार्मिक विशेषतासँग जोड्नुपर्ने प्रशिक्षण दिए । एमाले नेताहरुले मन्त्रमुग्ध भएर उनको प्रवचन सुने । उनको धार्मिक प्रवचनको अर्को किस्ता पनि सुन्न एमाले नेतागण अहिले प्रतिक्षा गरिरहेका छन् ।
समय बलवान छ । कुनै बेला एमालेमा माक्र्सवाद, लेनीनवादको प्रशिक्षण चल्थ्यो । द्वन्द्वात्मक भौतिकवाद र बहुदलिय जनवादबारे प्रशिक्षण चल्थ्यो । नारी अस्मिताका कुरा हुन्थे, दलितले भोग्नुपरेको दलनबारे बहस चल्थ्यो । अहिले पृथ्वीनारायण शाह र महेन्द्रको राष्ट्रवादबारे प्रवचन चल्छ एमालेमा । पञ्चायतकालमा जुन महेन्द्रिय राष्ट्रवादले आफैंलाई अराष्ट्रिय तत्व घोषित गरेको थियो, आज त्यसैको पूजापाठ चल्छ एमालेमा । हिजो धार्मिक बन्धनबाट मुक्त हुन आह्वान गर्ने एमाले नेताहरु अहिले धार्मिक विशेषताको कोटिहोम गर्न लागेका छन् । हिजो गाउँगाउँबाट उठ भनेर गाउने एमालेजन अहिले नारायणहिटीको प्रेत जगाउने संगीत रचनामा मुग्ध देखिन्छन् । हिजो महेन्द्रको सालिकमा चढ्दाचढ्दै गोली खाएका सहिदको रगतसँग साटेर राजनीतिक फसल उमारेको एमाले आज त्यही सालिकमा माल्यार्पण गर्न हिँडेको छ ।
त्यसैले हिजोका प्रश्रित असान्दर्भिक भैसके, आजका प्रश्रितको भाउ अचानक बढेको छ एमालेमा । अब प्रश्रितको प्रवचनले मात्र एमालेलाई सन्तुष्ट तुल्याउँछ भन्ने छैन । दिनबन्धु पोखरेललाई डाक्नुपर्ने हुनसक्छ स्थायी समितिलाई प्रवचन दिन । बल्खु दरबारमा सप्ताहव्यापी श्रीमद्भागवत् महायज्ञ लगाएर तमाम कार्यकर्तालाई प्रशिक्षित गर्नु झन् जरुरी भैसक्यो । महेन्द्र–विचारधाराबारे प्रवचन दिन सूर्यबहादुर थापालाई निम्ता गरे अझ उत्तम । वयोवृद्ध उमेरसम्म उनले एमालेको वैचारिक कायापलट राम्रोसँग नियालेका छन् र एमालेको पछिल्लो ‘वैचारिक विकास’ बारे उनले गजब प्रवचन दिन सक्छन् । बरु प्रश्रितलाई केही दिन प्रशिक्षण सामग्री जुटाउन फुर्सद दिए हुन्छ । उनले धामीझांक्री, तन्त्र साधनाको वैज्ञानिकता, वेदपुराणको समय सापेक्षताबारे थप अनुसन्धान गरुन् । नयाँ संविधानको ज्योतिषशास्त्रिय र तन्त्रशास्त्रिय विश्लेषण प्रश्रितले मात्र गर्न सक्छन् । एमाले नेताहरुका निम्ति यी प्रशिक्षणहरु अत्यन्त महत्वपूर्ण हुनेमा बिल्कुलै शंका छैन ।
एमालेका केही ‘माक्र्सवादी’ विद्वानहरुलाई अहिले संकट छ । सजिलो थियो, अचानक अप्ठ्यारो भयो माहोल । माक्र्सवादका कुरा कथेर व्यवहार चलिरहेको थियो । आइएनजिओ पनि खुसी हुने, माक्र्सवादी भैरहन पनि पाइने बडो चमत्कारी शैलीको विकास भएको थियो पछिल्लो दुई दशकमा । एकाएक हिन्दु धर्मका पुराना ग्रन्थ र राजामहाराजाको ढ्याँग्रो बोकेर प्रश्रित हाजिर भए । वेद, पुराण, महाभारत, रामायण, मनुस्मृति के छैन प्रश्रितसँग । यता माक्र्स, ऐंगेल्स, लेनीन, रोजा लग्जेम्बर्गका ठेलीले पटक्कै नभ्याउने । माक्र्सका कुरा पुराना भए भन्छन्, तर प्रश्रितका ग्रन्थहरु पटक्कै पुराना नहुने । लेनीनका कुरा गर्न अप्ठ्यारो लाग्ने, श्रीकृष्णको लीला र मनुका वचन बडो प्रिय छ यत्रतत्र । के गर्नु, के नगर्नु ! प्रश्रितले अचानक अप्ठ्यारो पारिदिए ।
तैपनि प्रश्रितको प्रशिक्षण छाड्न नमिल्ने, अध्यक्षको रुचीलाई खारेज गर्ने कसको आँट ? बहुदलिय जनवादभित्र बरु श्रीकृष्ण लीला र शीवलिंगको महिमा कसरी फिट गर्ने होला ? यसबारे एमाले माक्र्सवादी विद्वानहरुले गम्भिर शोध, अनुसन्धान गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । अन्यथा प्रश्रितको ढ्याँग्रो उनीहरुको माक्र्सवादमाथि पुरै हावि हुने सम्भावना बलियो छ । मनुस्मृतिलाई पनि संशोधित गरेर लागु गर्नुपर्ने चुनौती छ । आमाको नाममा नागरिकता दिने ऐन बनाउन चौतर्फी दबाब छ । तर पत्नीलाई खुट्टामा ढोगाएर क्यामरालाई पोज दिने नेता माधव नेपाल पनि छन् पार्टीमा । यसमा बीचको बाटो पहिल्याउन पनि एमालेजनलाई अप्ठ्यारो पर्दै आएको छ । पहिलापहिला मिलाएर कुरा गर्न पाइन्थ्यो, ओलीको राजमा जे लाग्छ त्यही बोल्नुपर्ने र गर्नुपर्ने छ । प्रश्रितको मनुस्मृतिमा महिलालाई पुरुषको दासी भनिएको छ । त्यसैले हाललाई आमाको नाममा नागरिकता दिने कुरा पनि स्थगित नै राख्नुपर्ने बाध्यता छ ।
ओली स्पष्टवक्ता हुन् । जे देख्छन्, त्यही बोल्छन् । के देख्छन्, त्यो खोज्न माक्र्सवादका पुराना ग्रन्थमा र समाजको खुल्ला पुस्तकमा आँखा लगाएर हुन्न । त्यसैले पार्टीका नेतालाई प्रश्रितको प्रशिक्षण दिलाउन उनले आवश्यक ठाने । ओलीले जे देख्छन्, त्यो प्रश्रितको दिव्यदृष्टिले मात्र देख्छ । बाँकी एमालेजनले पनि ओलीदृष्टि सिक्न आवश्यक छ । प्रशिक्षण दिन प्रश्रित छँदैछन् ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment