डिसेम्बर २२, शनिबारका दिन ठीक ६:४५ बजे म चढेको टाटा सुमो गाडीले काठमाडौं छोड्यो। बीचमा पर्ने डाँडाकाँडालाई पन्छाउँदै केही घण्टापछि गाडी भिमफेदी बजारमा पुग्यो। मल्लकालीन समयमा काठमाडौं र भारत आवत जावत गर्ने बाटोमा पर्ने भिमफेदी बजारमा उति चहल-पहल देखिएन। १०:३० तिर हेटौंडा पुगेर खाना खाने होटल नेर गोडी रोकियो। खाना खाइ सकेपछि वीरगञ्जतिर गाडी हान्नियो।
११:३० तिर गाडी वीरगञ्ज पुग्यो। वीरगञ्जमा केही बेर घुमघाम गरेपछि टांगामा चढेर बोर्डर पार गरी भारतको रक्सौल प्रवेश गरें। रक्सौलमा पुगे पछि बेतिया जाने बस खोज्नतिर लागें। बेतिया रक्सौलबाट ४० किलोमिटर टाढा पर्ने एउटा सहर हो। यो सहर बिहारको पश्चिम चम्पारण जिल्लाको सदरमुकाम पनि हो। बेतिया जाने बस भेटेपछि १ बजेतिर बसमा चढी बेतियातिर लागें। करिब डेढ घण्टापछि म चढेको बस सुगौली सहर पुग्यो। सुगौलीले नेपालको इतिहासमा महत्वपुर्ण स्थान ओगटेको छ। सुगौलीमा नै नेपाल र इष्ट इण्डिया कम्पनी बीचर् इ.सं. १८१६ मा सन्धि भएको थियो, जसले गर्दा नेपाल र अंग्रेजबीच भएको दुर्इ वर्षे युद्धको अन्त भएको थियो। यस सन्धिलाई नेपालको इतिहासमा “सुगौली सन्धि” भनेर भनिन्छ। यही सन्धिले गर्दा नै नेपालको पछिल्लो सिमाना कायम हुन गयो। “सुगौली सन्धि” ले नै नेपालले आफ्नो आधा भू-भाग गुमाउनु परेको थियो। सुगौली सहर देखेर मेरो मन अशान्त भयो। “सुगौली सन्धि” ले गर्दा नै काजी अमरसिंह थापा विरक्तिएर गोसाइकुण्ड गएर बसेका थिए। साँच्चै प्रत्येक नेपालीको लागि सुगौली सन्धि दुःखदायी थियो। सुगौलीबाट १८-१९ किलोमिटर गाडी गुडेपछि बेतिया आइपुग्यो। बसबाट ओर्लना साथ मैले चारैतिर आँखा डुलाएँ। बेतियाको बारेमा मैले इतिहासमा धेरै कुरा पढेको थिएँ। पृथ्वीनारायण शाहका कान्छो छोरा बहादुर शाहले बेतियामा नै निर्वासित जीवन बिताएका थिए। पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको महान अभियानलाई अझ ब्यापक रुप दिई ठूलो भूभागलाई नेपालमा गाभ्ने काम यही बहादुर शाहले गरेका थिए। तर त्यस बेलाको नेपाल दरबारमा भएको षडयन्त्रको शिकार भएर बहादुर शाह बेतियामा निर्वासित हुनुपर्यो। बेतिया पुगेपछि अलि भोक लागेकोले एउटा पसलमा पसें। पसलमा मैले चिउरा र मासु देखें। भारतको अन्य ठाउँमा नदेखिने चिउरा त्यहाँ देख्दा मलाई सुखद अनुभुति भयो। देशबाट निकालाबास भएका नेवार पर्खाहरुले चिउरा संस्कृति त्यहाँ भित्राएको होला भनेर अनुमान गरे। बेतियामा लामो समयदेखि क्याथोलिक इर्साईहरुको बेतिया मिसनले कार्य गर्दै आइरहेको छ। बेतिया मिशनको स्थापना इ.सं. १७४५ डिसेम्बर ७ मा फादर जोसेफ मेरी र ल्हासामा बप्तिस्मा लिएका नेवार क्याथोलिक इर्साई माइकलले गरेका थिए। पसलमा भोक शान्त गरेपछि म चुहडी जानलाई माइक्रो बसपार्कतिर लागें। माइक्रो बस चढेर केही बेर प्रतिक्षा गरे। १०-१५ मिनेटको प्रतिक्षा पछि पनि बस नचेलको देखेर ड्राइभरलाई बस कहिले जाने भनेर सोधें। उसले बस भरेपछि मात्र चुहडी जाने, ४ जना पेसेन्जरको पैसा त बसपार्क मै बुझाउनु पर्ने आफ्नो बाध्यता सुनाएँ। ४ बजि सकेको भएर मैलें त्यस दिन चुहडी नजाने निर्णयगरी बसबाट ओर्ले र नजिकैको लजमा गएँ। भोलिपल्ट म बिहान ८ बजेतिर चुहडी जानलाई बसपार्कमा आएँ। त्यहाँ एउटा माइक्रो बस भेटाएँ। तर पेसेन्जर थिएन। ड्राइभरले सिट पुरा भरेपछि मात्र चुहडी जाने, २ जना मात्र पेसेन्जर लिएर गयो भने आफू घाटामा पर्ने दुःखेसो सुनाए। बरु उसलाई पेसेन्जर नभएता पनि पुरा सिटको भाडा दियो भने जाने बताए। डिसेम्बर महिनाको शीतलहरको बेला थियो। अरु पेसन्जर पाउने पनि हतपत सम्भावना थिएन। यतिकैमा मैले आधा सिटको पैसा दिन्छु भने, अर्को पेसेन्जरले पनि आधा सिटको पैसा दिन मन्जुर गर्यो। मैले ७ जना पेसेन्जर बराबरको पैसा दिनु पर्नेभयो। त्यसपछि माइक्रो बस चुहडीतिर लाग्यो। करिब ९-१० किलोमिटर उत्तर-पश्चिमतिर गाडी गुडेपछि चुहडी गाउँमा आइपुग्यो। चुहडी गाउँमा क्याथोलिक चर्च भएको ठाउँमा गाडी रोक्न भने। ड्राइभरले क्याथोलिक चर्चनेर गाडी रोकिदियो। माइक्रो बसबाट ओर्लेर मैले चुहडी गाउँमा पाइला टेकें। चुहडी गाउँ, त्यही गाउँ हो जहाँ पृथ्वीनारायण शाहले देश निकाला गरेको नेवारहरु अहिले पनि बसिरहेका छन्। १७ फेब्रुअरी १७६९ मा पृथ्वीनारायण शाहले निस्काशन गरेका इर्साई नेवारहरु यस ठाउँमा आइपुगेका थिए। म चर्चको गेटमा एकछिन उभिएँ। मैले एक जना मानिस चर्चको कम्पाउण्ड भित्रबाट बाहिर आइरहेको देखें। मैले उसलाई चर्चका फादरलाई भेटाइदिन अनुरोध गरें। उसले मलाई भित्र लगेर चर्चका फादर पंकजलाई भेट गर्राईदियो। मैले चर्चका फादर पंकजलाई करिब २४४ वर्षअगाडि आएका मेरो जातिका मानिसहरु खोज्न आएको बताएँ। उहाँ मेरो कुरा सुनेर औधी खुसी हुनुभयो। उहाँले मलाई दिल खोलेर स्वागत गर्नुभयो। उहाँले आफू सो चर्चमा नयाँ नियुक्त भएर आएकोले सो चर्चको इतिहासका बारे राम्ररी जानकारी नभएको बताउनुभयो। साथै उहाँले अब सो चर्चको इतिहास राम्ररी अध्ययन गर्ने बताउनु भयो। उहाँले मलाई तुरुन्तै २ जना नेवार जातिका मानिसहरुसँग भेट गराउनुभयो। मैले उहाँले भेट गराइदिनुभएको मानिसहरुसँग परिचय गरें। उनीहरु मलाई देखेर साह्रै खुसी भए। मैले ती नेवारहरुको मुहार नियालें। तिनीहरुको अनुहार औंसत बिहारीहरुका जस्ता देखिन्थें। उनीहरुले भोजपुरी भाषा बोल्थें। फादरले केही खान अनुरोध गर्नुभयो र एक कप तातो चिया मेरो नजिक आइपुग्यो। चुहडी गाउँमा नेवारहरुलाई “भाजु” भन्दो रहेछ। प्रत्येक नेवारहरुले आफ्नो नामको पछाडि “भाजु” राख्ने रहेछ। त्यहाँका भाजुहरु धेरै शिक्षित छन्। धेरै भाजुहरु डाक्टर, इन्जिनियर, प्रोफेसर भइसकेका छन्। हाल चुहडीमा २५० जना जति नेवारहरु बसोबास गरिरहेका छन्। धेरै भाजुहरु देशका विभिन्न स्थान जस्तै पटना, दिल्ली, कलकत्ता, इलाहाबाद, टाटानगरमा बसाइ सरेर गएका छन्। धेरै भाजुहरु विदेशमा पनि छन्। केही बेर चर्चमा बसेपछि म नेवारहरुको बस्तीमा डुल्न गएँ। मैले सो बस्तीमा केही नेवार अनुहारहरु देखें। मैले तिनीहरुलाई तपाईहरु नेवार हो कि भनेर सोधें। उनीहरुले आफूहरु नेवार नै भएको बताए। मैले म काठमाडौंबाट आएको र आफू नेवार भएको बताएपछि उनीहरु धेरै खुसी भए। उनीहरुले तत्काल मलाई एकजना व्यक्तिलाई भेटाउन लगे। त्यहाँ मैले एक जना ७१ वर्षजतिको बृद्धलाई देखें। उहाँले म नेवार हुँ भन्ने थाहा पाउना साथ मलाई नेवार भाषामा रोटी खाने कि भात खाने भनेर सोध्नुभयो। म साह्रै खुसी भएँ। २०० वर्षछि पनि त्यस गाउँमा नेवार भाषा बाँकी रहेको देख्दा मलाई साह्रै खुसी लाग्यो। ती नेवार भाषा बोल्ने ब्यक्तिको नाम डेनिस लोरेन्स भाजु रहेछ। मैले उहाँलाई बताए कि म सो गाउँमा नेवार भाषा बचिरहेको छ कि छैन भनेर नै काठमाडौंबाट हेर्न आएको हुँ। अहिले सम्म पनि नेवार भाषा बोल्ने मानिस रहिरहेको देखेर म साह्रै खुसी भएँ। डेनिस लोरेन्स रिटायर्ड शिक्षक हुन हुँदोरहेछ। मलाई उहाँको परिवारले साह्रै सम्मान गरे। बच्चाहरु पनि मेरो खुट्टा ढोग्न आए। मलाई डेनिस लोरेन्सका परिवारका मानिसहरुले केही दिन त्यस गाउँमा बस्न अनुरोध गरें तर समय अभावको कारणले गर्दा म रोक्न सकिन। उहाँहरु सँग बिदावारी भएर म निस्कें। मैले नेवार महिलाहरु पनि धेरै देखें। सबैले नाकमा फुली लगाएका थिए। मैले त्यहाँका महिलाहरुलाई भने कि नेपालमा त नेवारहरुले फुली लगाउदैन। त्यो कुरा सुनेर उनीहरु छक्क परे। चुहडी गाउँमा नेवारहरु के कसरी आइपुगे भनेर बुझनलाई हामीले इतिहासको एउटा काल खण्डलाई अध्ययन गर्नुपर्ने हुन्छ। त्यो काल खण्ड हो “मल्लकाल”।
पृथ्वीनारायण शाहले देश निकाला गरेका इर्साई नेवारहरुको खोजीमा
इ.स. १२०० देखिर् इ.स. १७६८ सम्म काठमाडौं उपत्यकामा विभिन्न मल्ल राजाहरुले राज्य गरे। यस अवधिलाई मल्लकाल भनिन्छ। मल्लकालमा नै काठमाडौं उपत्यकाका मानिसहरुले प्रभु येशूको बारेमा सुन्ने मौका पाएका हुन्। मल्लकालमा नै नेपालमा विदेशी मिशनरीहरु आउन थालेका हुन। तर मल्लकालमा जति पनि विदेशी मिशनरीहरु आए तिनीहरुको गन्तव्य नेपाल थिएन। तिनीहरुको गन्तव्य तिब्बत थियो। यदि काठमाडौं उपत्यका, भारत र तिब्बतको बीचको ब्यापारिक मार्गमा नपरेको भए शायद काठमाडौं उपत्यकाका बासिन्दाहरुले धेरै पछि मात्र प्रभु येशूको सु-समाचार सुन्न पाउँथे होला। त्यस बेला विदेशी मिशनरीको गन्तब्य किन तिब्बत हुन गयो त – यो प्रश्न स्वभाविक रुपमा उठ्न सक्छ। यसको लागि हामीले केही कुरा थाहा पाउन आवश्यक छ।
पृथ्वीनारायण शाहले देश निकाला गरेका इर्साई नेवारहरुको खोजीमा
पृथ्वीनारायण शाहले देश निकाला गरेका इर्साई नेवारहरुको खोजीमा
१७ औं शताब्दीको शुरुतिर इटलीमा यो हल्ला फैलियो कि संसारको छाना तिब्बतमा धेरै इर्साईहरु भड्किरहेको छ र तिनीहरुलाई आध्यात्मिक मार्ग दर्शनको लागि केाही छैन। त्यसैले रोममा १७ मार्च १७०३ का दिन चर्चका उच्चाधिकारीहरुले यो कार्य “पिसिनों प्राविंस कन्ग्रीग्रेशन अफ प्रोपोगान्डा” लाई सुम्पे। तिब्बतका सर्म्पर्क विहिन भएर रहेका इर्साईहरुलाई सर्म्पर्कमा ल्याउने र तिब्बतमा सु-समाचार प्रचार गर्ने जिम्मा त्यसलाई दिइयो। हुनत यो भन्दा अगाडि १६ औं शताब्दीमा जेसुइट मिशनरीहरुले पनि तिब्बत जाने असफल प्रयास गरेका थिए। तिब्बतको सिगात्सेबाट र्फकने क्रममा जेसुइट मिशनरी जोवा ग्रेवाल इ.सं. १६२८ मा नेपाल आएका थिए। उनी काठमाडौं आएका पहिलो युरोपियन हुन्। उनी नेपाल आएका समयमा जगज्योति मल्ल काठमाडौंका राजा थिए। त्यसरी नै इ.सं. १६६१ मा जेसुइट मिशनरीहरु ग्रुब्बर र डोरविल तिब्बतबाट फर्कँदा काठमाडौं आएका थिए। तिनीहरुले काठमाडौंका राजा प्रताप मल्ललाई भेटी एउटा दुरवीन र केही गणितीय सामाग्रीहरु पनि उपहार दिएका थिए। ६ जना इटालियन केपुचिन फादरहरुको एउटा समूह ६ मे १७०७ मा तिब्बत पुगे। उनीहरु २१ फेब्रुअरी १७०७ मा काठमाडौं आइपुगेका थिए। तिब्बतमा उनीहरुले सु-समाचार प्रचारको कार्य गरे। ल्हासामा त्यस बेला धेरै नेवार व्यापारीहरु रहन्थे। केपुचिन फादरहरुले ल्हासामा नेवारहरुका बीचमा पनि सु-समाचार प्रचारको कार्य गरे। इ.सं. १७२२ तिर सात जना नेवारहरुले पहिलोपल्ट ल्हासामा वातिस्मा लिए। ल्हासामा ४ अक्टोबर १७२६ का दिन चर्च अर्पण कार्यक्रम समारोह सम्पन्न भयो। पछि इ.सं. १७१७ मा क्याथोलिक फादरहरुको अर्को दल स्थायी रुपले बसेर सु-समाचार प्रचार गर्ने उद्देश्यले काठमाडौंमा आइपुगे। सन् १७२१ मा तिब्बतबाट फादर डेसिडेरी नेपाल आए। उनले राजा भुपतीन्द्र मल्ललाई भेट गरे। पछि फादर होरेसले इ.सं. १७३२ मा भक्तपुरमा मिसन भवन खोली सु-समाचार प्रचारको काम गरे। इ.सं.१७१५ देखि विभिन्न केपुचिन फादरहरुले काठमाडौं उपत्यकामा नेवारहरुका बीच कार्य गरे। राजा जयप्रकाश मल्लले इ.सं. १७४२ मा काठमाडौंको वटु टोलमा घर र बगैंचा दिएर मिशन भवन खोल्न दिए। यता पाटनमा राजा राज्यप्रकाश मल्लले पनि इ.सं. १७५४ मा टंगको धारा नजिक एउटा घर र बगैंचा दिएर केपुचिनहरुलाई सु-समाचार प्रचार गर्न दिए। पछि इ.सं. १७४५ मा ल्हासाको प्रशासनले इर्साई मिशनरीहरुलाई निष्काशन गरे। उनीहरु पनि काठमाडौंमा भेला भए। धेरै उपत्यकाबासीहरुले प्रभु येशुलाई विश्वास गरी बप्तिस्मा पनि लिए। २४ मार्च १७६० मा वटु टोलमा चर्च भवन अर्पण कार्यक्रम गरियो। यो चर्चको नाम Assumption of Our Lady थियो। र यो चर्च नेपालको पहिलो चर्च थियो। पछि पाटन र भक्तपुरमा पनि चर्च भवन बनिए। सन् १७१५ देखि १७६९ सम्म नेपालका नेवारहरुका बीच काम गर्ने केपुचिन फादरहरु यी थिए : फादर जौन फ्रानसीस (मृत्यु १७३२), फा. दोमनिक, फा. सेराफीस, फा. फ्रानसीस अन्तुनी (मृत्यु १७३२), फा. जोआकीम, फा. विटुस, फा. बर्नाडीन, फा. अनोफिउस, फा. फ्लोरियन (मृत्यु १७५३ बेतिया), फादर बेनेदिक्ट (मृत्यु १७५५), फा. ट्राँन्क्नीलिउस (मृत्यु १७६८), फा. काँन्सटेनटोन। तिब्बत र नेपालमा काम गरेका फादर ट्राँन्क्नीलिउस हारेसको मृत्यु २० जुलाई १७४५ का दिन पाटनको मिसन हाउसमा भएको थियो। नेपालमा विदेशी मिशनरीहरुको मुख्य काम सु-समाचार प्रचार गर्नुका साथै विरामीहरुको निःशुल्क उपचार गर्नु, मरेका बच्चाहरुको स्नान संस्कार गर्नु तथा जनताको आवश्यकता अनुसार अन्य सामाजिक कार्यहरु गर्नु थियो।
काठमाण्डौंमा विदेशी मिशनरीहरुले सन् १७६९ सम्म निर्वाधरुपमा कार्य गर्दै रहे। तर पृथ्वीनारायण शाहले काठमाण्डौं जितेपछि नेवार इर्साईहरुलाई देश छाडेर जान बाध्य पारिए। शुरुमा पृथ्वीनारायण शाह विदेशी मिशनरीहरुबाट धेरै प्रभावित थिए। काठमाण्डौं उपत्यकामा विदेशी मिशनरीहरुले गरेको सामाजिक कार्यहरुसंग उनी परिचित थिए। त्यसैले नुवाकोट राजधानी छँदा उनले विदेशी मिशनरीहरुलाई त्यहाँ बोलाएको.पनि थिए। तर जनशक्तिको अभावले गर्दा विदेशी मिशनरीहरु नुवाकोटमा काम गर्न जान सकेन। पछि काठमाडौंका राजा जयप्रकाश मल्लको पत्र विदेशी मिशनरी मार्फत पाएपछि अंग्रेजहरु सिन्धुली गढीमा हमला गर्न आएको रिस पोख्न पृथ्वीनारायण शाहले विदेशी मिशनरीहरु र इर्साई नेवारहरुलाई नेपालबाट निष्काशन गरे। साथै किर्तिपुरका जनताहरुलाई नाक काटेर अमानवीय व्यवहार गर्न थालेपछि इर्साईहरुको एउटा प्रतिनिधि मण्डल गएर त्यसो नगर्न अनुरोध गरेकोले पनि पृथ्वीनारायण शाह झन रिसाए। अन्तत ५ जना विदेशी मिशनरीहरु र १४ परिवारका ६२ जना इर्साई नेवारहरु सन् १७६९ फेब्रुअरी १० तारिखका दिन काठमाडौं छाडेर जान बाध्य भए। उनीहरु डाँडाकाँडा छिचोल्दै, औंलो रोग लाग्ने चितवनको जंगल नाघेर सन् १७६९ फेब्रुअरी १७ तारिखका दिन उत्तर भारतको चुहडी गाउँ पुगेको थियो।
लेखक “न्हूगु नुगः” नेवार इर्साई पत्रिकासँग सम्बन्धित हुनुहन्छ।
प्रतिक्रियाको लागि E-mail: naresh2066@hotmail.com
प्रतिक्रियाको लागि E-mail: naresh2066@hotmail.com
0 comments:
Post a Comment